राजनीतिसमाचार

धुम्बाराही पुगेर माधव नेपाल र उपेन्द्र यादवले भेटे देउवालाई

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

आज बिहान कांग्रेस पदाधिकारी बैठक बस्नुभन्दा पहिले नेपाल र यादवले सभापति देउवासँग भेटवार्ता गरेका हुन्।

उनीहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन्। सभामुख पदका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता र बिहीबार निर्वाचनको कार्यक्रम छ।

उनीहरूबीच समामुख निर्वाचनमा मिलेर जाने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ।

गत पुस २६ गते कांग्रेस, एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि यी दल सरकारमा भने सहभागी भएका छैनन्।

प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।

the authoradmin