Monday, August 10

धूमपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोमा कठोर व्यवस्था

नेपालअखबार, काठमाडाैं । मेक्सिकोले सार्वजनिक स्थलमा धुमपानमा पूर्ण प्रतिबन्ध लगाउन विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।

Advertisement

मेक्सिकोमा सन् २००८ मा ल्याइएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो।

Advertisement
Advertisement

अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको बिबीसीले जनाएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छन्।

Advertisement

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ। अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन।

सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको हो।

नयाँ कानुन अनुसार अब धूमपान गर्ने व्यक्तिले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन्।

कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाए पनि मेक्सिकोले लगाएको धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिइएको छ।

कानुनमा भेप र इ-सिगरेटहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।

यसैबीच पान अमेरिकन हेल्थ असोसिएसन (पिएएचओ) ले मेक्सिकोको नयाँ कदमलाई स्वागत गरेको छ। उसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने दीर्घकालीन नसर्ने रोगलाई रोक्न र नियन्त्रण गर्ने प्रयासको लागि यो कदमको प्रशंसा गरेको छ।

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरे ठूलो सङ्ख्यामा मृत्युका घटना रोक्न सकिने उक्त संस्थाले दाबी गरेको छ।

एकै वर्षमा, मेक्सिकोमा हुने सबै मृत्युमध्ये १० प्रतिशत सुर्तीजन्य पदार्थको प्रयोग वा सुर्तीजन्य धुवाँको सम्पर्कबाट हुने गरेको पिएएचओले भनेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले मेक्सिकोमा लागेको धुमपान प्रतिबन्धको प्रशंसा गरे।

प्रत्येक वर्ष अमेरिकी महादेशमा प्रत्यक्ष वा अप्रत्यक्ष धूमपानका कारण करिब १० लाख मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क छ।

कतिपय धूमपानकर्ताहरू नयाँ कानुनको कठोर व्यवस्थालाई लिएर असन्तुष्ट छन्।

कतिपयले यो कानुनको कार्यान्वयनलाई लिएर प्रश्नहरूसमेत उठाएका छन्।