राजनीतिसमाचार

मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवार बनाउने कांग्रेसको तयारी

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले उपसभामुख पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको बैठकमा उपसभामुखमा उम्मेदवारी दिनेबारे छलफल भएको थियो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले पार्टीबाट उपसभामुख पदमा उम्मेदवारी दिने तयारी रहेको बताए।

कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग पनि उसभामुखमा समर्थन लिन छलफल गर्ने भएको छ। लेखकका अनुसार शुक्रबार अपरान्ह उपसभामुख पदमा मनोनयन दर्ता गर्ने तयारी छ।

कांग्रेसले उपसभामुख पदमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको पार्टीका एक पदाधिकारीले जानकारी दिए। उपसभामुख पदमा उम्मेदवारी आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिन सकिन्छ।

यादव धनुषाकी हुन्। उनी समानुपातिकतर्फबाट कांग्रेस सांसद बनेकी थिइन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।

यादव २०७४ सालमा मधेस प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेकी थिइन्। उनी दोस्रो संविधान सभामा पनि सभासद थिइन्। राजनीतिमा आउनुभन्दा पहिले उनी शिक्षक थिइन्।

कांग्रेसले सभामुखमा पनि यसअघि उम्मेदवारी दिएको थियो। बिहीबार भएको सभामुख निर्वाचनमा एमाले सांसद देवराज घिमिरे निर्वाचित हुँदा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने पराजित भइन्।

साथै सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवार बनाउने तयारी छ। रास्वपाले सांसद इन्दिरालाई उम्मेदवार बनाउने स‌ंसदीय दलबाट निर्णय गरिसकेको छ। सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपालाई दिने समझदारी बनेको थियो।

the authoradmin