Saturday, August 15

शक्तिशाली भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार

नेपालअखबार, एजेन्सि। टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ।

Advertisement

रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्।

Advertisement
Advertisement

सीएनएनका अनुसार भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्।

Advertisement

यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्।

यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्।

सरकारी स्वामित्वको अनादोलु समाचार एजेन्सीका अनुसार १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनको दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पुर्‍याएको हो।

सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको टर्किस मिडियाले जानकारी दिएका छन्।

विनासकारी भूकम्पले टर्की र छिमेकी मुलुक सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।

अघिल्लो सोमबार टर्की र सिरियामा आएको विनाशकारी भूकम्पबाट हाल सम्म मृत्यु हुनेको कुल संख्या कम्तिमा ४१,२१९ पुगेको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार टर्कीमा ३५,४१८ जनाको मृत्यु भएको छ ।

यसैगरि सिरियामा उत्तरपश्चिमी सिरियाको सरकारी र विद्रोही नियन्त्रित क्षेत्रहरूमा मृत्यु हुनेको संख्या हाल ५,८०१ पुगेको सिरियाली स्वास्थ्य मन्त्रालय र विपक्षी-नियन्त्रित क्षेत्रहरूमा सञ्चालन गर्ने सिरियाली नागरिक रक्षा र चिकित्सा समूहले ताजा जानकारी गराएका छन् ।