Tuesday, May 12

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सहयोग गर्न ८ दलको आह्वान

नेपालअखबार, काठमाडाैं । ८ दलले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान गरेका छन्।

बालुवाटारमा आइतबार बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका पौडेललाई सहयोग गर्न अपिल गर्ने निर्णय गरेका हुन्।

Advertisement

साथै बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अरू दलबाट एक-एक जना सदस्य रहने गरी कार्यदलसमेत गठन गरेको छ।

बैठकले फागुन १८ गते संघीय (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सांसदहरूलाई अभिमुखीकरण दिने निर्णय गरेको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

फागुन १९ गते सातै प्रदेशमा राष्ट्रपति निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णयसमेत भएको छ।

यस्तै फागुन २३ गतेभित्र गठबन्धनमा आवद्ध सबै दलका सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशनसमेत दिने निर्णय ८ दलको बैठकमा भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा राष्ट्रपति निर्वाचन, उपराष्ट्रपति निर्वाचन तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सत्ता साझेदारीलगायत विषयमा पनि कुराकानी भएको थियो।