Monday, July 13

जेलभित्र जाँड-रक्सी खाँदै तास खेलेको भिडिओ सार्वजनिक भएपछि थालियो छानबिन

नेपालअखबार, इलाम। इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरू गरेको छ।

Advertisement

समिति नै गठन गरेर छानबिन सुरू गरिएको हो। सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो।

Advertisement
Advertisement

सो समितिले काम थालिसकेको संयोजक थापाले बताए। भिडिओ कहिलेको हो र को-को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ।

Advertisement

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडिओ बाहिरिएको हो। इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ।

जेलर सुमित मगरले उक्त भिडिओ कारागारभित्रकै रहेको स्वीकार गरे। उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र  सरुवा भएर गइसकेका बताए। कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन्।रासस