राजनीतिविश्वसमाचार

साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापनाको स्वागत

नेपालअखबार, इस्लामाबाद । साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको पाकिस्तान र संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। चीनमा भएको वार्तापछि साउदी अरेबिया र इरान सात वर्षपछि कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका छन्

पाकिस्तानको विदेश मन्त्रालयलाई जारी गरिएको विज्ञप्तिमा यो कूटनीतिक पहलले क्षेत्रीय शान्ति र स्थायित्व अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । चीनको प्रशंसा गर्दै पाकिस्तानले विज्ञप्तिमा भनेको छ, ‘हामी यस ऐतिहासिक सम्झौतामा चीनको दूरदर्शी नेतृत्वले खेलेको भूमिकाको कदर गर्छौँ, जसले सकारात्मक संलग्नता र अर्थपूर्ण वार्ताको शक्ति देखाउँछ।’ पाकिस्तानले मध्यपूर्व क्षेत्रमा सकारात्मक भूमिका खेल्ने र यो पहल बाँकी क्षेत्रमा सहयोग र समृद्धिको उदाहरण बन्ने बताएको छ ।

उता राष्ट्रसंघका महासचिवले पनि इरान र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले खाडी क्षेत्रमा स्थायित्व ल्याउन छिमेकी मुलुकबीचको राम्रो सम्बन्ध आवश्यक रहेको बताएका छन् ।

सन् २०१६ मा साउदीमा एक शियालाई फाँसी दिएपछि इरान र साउदी अरेबियाबीचको सम्बन्ध चिसिएको थियो । त्यसपछि इरानमा रहेको साउदी दूतावासमा हमला भएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध टुटेको थियो ।

the authoradmin