Thursday, July 16

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

नेपालअखबार, एजेन्सि। वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्।

Advertisement

अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्।

Advertisement
Advertisement

मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ ।

Advertisement

तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो ।

बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन्।

इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिया गर्छन्। ‘बिरुवाहरूले विभिन्न जीवहरूसँग पृथक ढंगले अन्तरक्रिया गर्छन्। रसायन उत्सर्जन गरेरसमेत बिरुवाले सञ्चार गर्दछ,’ उनले भनेका छन् ।

यो कुरा पत्ता पाएका अदानीलाई बिरुवाले तनावको स्थितिमा उत्पन्न गर्ने आवाजबारे अनुसन्धान गर्न मन लाग्यो। यसअघि त्यस विषयमा कुनै पनि सन्दर्भ सामग्री नभएकाले अनुसन्धान पनि चुनौतीपूर्ण नै थियो। तर अदानीले योसी योभलसँग भेट गरेर  यस विषयमा अनुसन्धान गर्ने निधो गरे। उनीहरूले आफ्नो अध्ययन टमाटर र सुर्तीको बिरुवामा केन्द्रित गर्ने निधो गरेका थिए। यी बिरुवाको आनुवंशिकी बुझ्न सहज हुने भएकाले  उनीहरूले टमाटर र  सुर्ती चयन गरेका थिए।

यी अनुसन्धानकर्मीहरूले टमाटर  र सुर्तीको बिरुवालाई ध्वनीरहित बाक्समा राखेर त्यहाँ माइक राखिदिए। बिरुवाको डन्ठीमा उनीहरूले माइक राखेका थिए। त्यसपछि उनीहरूले बिरुवा सुख्खा हुँदा र डन्ठी काटेर चोट पुग्दा विशेष ध्वनी निकाल्ने पत्ता लगाए।

बाकसमा राखिएको बिरुवाबाट आएको ध्वनीबारे करेसामा रहेका बिरुवासँग पनि अनुसन्धान गरिएको थियो। त्यसबेलासमेत बिरुवाले उस्तै ध्वनी निकालेपछि उनीहरूले बिरुवा तनावमा हुँदा रूने निष्कर्ष निकाले हुन्।

यान्त्रिक विधिबाट परीक्षण गर्दा त्यस्ता ध्वनी निकालेका बिरुवाहरू या त सुख्खा थिए या त  उनीहरूमा केही चोटपटक लागेको थियो। टमाटर र सुर्तीपछि अंगुरको झुप्पामा समेत यो अनुसन्धान गरिएको थियो। ‘बिरुवाको आवाजले संचार गर्ने सन्देश के हुनसक्छ भन्ने निष्कर्ष सहितको यो अनुसन्धान निकै महत्वपूर्ण छ। यसलाई अझै परिष्कृत गर्न सकिन्छ,’ क्यालिफोर्निया विश्वविद्यालयका इकोलोजिस्ट रिचार्ड कबानले भने।