Monday, May 11

बुवाको ठेगान नभएका बच्चाको जन्मदर्तामा मावलीकै थर कायम गर्न गृहको पत्र

नेपालअखबार, काठमाडाैं । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा प्रष्ट्याएको छ।

बुधबार ६ हजार ७ सय ४३ वटै वडा कार्यालयलाई पत्र लेख्दै विभागले यस सम्बन्धमा प्रष्ट पारेको हो।

Advertisement

यस विषयमा थप प्रष्ट पार्न भन्दै स्थानीय तहहरूले अनुरोध गरेपछि विभागले सबै वडामा परिपत्र गरेको हो।

विवाहअघि जन्म भएको तर बुवाको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राख्न भनिएको छ। यस्तै आमाको हालको स्थायी ठेगानामा जन्‍म दर्ता गर्न अनुरोध गरेको छ।

यस्तै एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन भनेको छ।

यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बुवाकै ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिन पनि भनेको छ।

यसबाहेक अन्यमा भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधनसहित), २०७७ र विभागको यसअघिका परिपत्रअनुसार गर्न भनिएको छ।