
नेपालअखबार, सल्यान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयावधिभित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको छ । ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले जुनसुकै ठाउँबाट दबाब आए पनि काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले ठेक्का लिने र होल्ड गर्ने काम भैरहेको छ, ठेक्का लिएर सम्झौता भैसकेपछि, हामी काम गराउनमा जान्छौ, उपाय नै भएन भने त्यो ठेक्का तोड्छौँ ।”
विकास निर्माणका योजनाप्रति बदमास र बेइमानी गर्ने कुनै निकायलाई छुट नभएको भन्दै मन्त्री ज्वालाले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभयो । पहिलेदेखि अलपत्र परेका गौरवका महत्वपूर्ण योजनालाई तत्काल अगाडि बढाएर प्राथामिकताका साथ काम गर्ने बताउनुभयो । कतिपय योजनामा टेण्डर नै नपर्ने, कतिपय योजनामा टेण्डर परेर सम्झौता हुने तर काम अघि नबढ्ने समस्या देखिएको उहाँले बताउनुभयो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सल्यानले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय छलफल कार्यक्रममा मन्त्री ज्वालाले सल्यान जिल्लाको सन्दर्भमा राप्ती लोकमार्ग आफ्नो प्रमुख अर्जुनदृष्टि भएको बताउनुभयो ।
सल्यानी जनताको प्रमुख समस्या राप्ती लोकमार्ग भएको बताउँदै आफ्नो कार्यकालमा नै लोकमार्गको पूर्ण रुपमा स्तरोन्नति गर्ने बताउनुभयो । मन्त्री ज्वालाले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने प्रष्ट पार्नुभयो ।

