समाचारसमाज

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

नेपालअखबार, सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।

साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।

घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए । अहिले हात्ती पूर्वतर्फ गएको भन्ने जानकारी गाएको इन्स्पेक्टर बुढाथोकी जानकारी  दिए ।

हात्तीले पटक–पटक यस क्षेत्रमा मान्छेमाथि हमला गरेकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने कार्य भइरहेको उनले बताए ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।

यस अघि पनि गत फागुन २३ गते गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षीय देव प्रसाद सदाको हात्ती आक्रमणबाट मृत्यु भएको थियो ।

होलिका दिन भएकाले साथीहरूसँग गाउँ नजिकैको जङ्गलमा घुम्न गएको बेला हात्ती आक्रमणबाट घाइते भएका सदाको उपचारको क्रममा मृत्यु भएको थियो ।

the authoradmin