Sunday, April 19

आज आमाको मुख हेर्ने पर्व

नेपालअखबार, काठमाडाैं । आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।

Advertisement

आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य देवमणि भट्टराईले बताए।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ। मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए।

यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ।

यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक नपर्ने पनि समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।रासस