राजनीतिसमाचार

नेकपा एकीकृत समाजवादीद्वारा मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनको विरुद्धमा उपप्रधान तथा गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपालअखबार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) निकट मोर्चा सङ्गठनले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनको विरुद्धमा उपप्रधान तथा गृहमन्त्रीलाई सिंहदरबारमा पुगेर ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) का उपप्रमुख तथा मोर्चा फाँट इन्चार्ज डा. विजय पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  यो कुकृत्यमा संलग्न सबै अपराधीहरूलाई गिरफ्तार गरी हदैसम्मको कानूनी कारबाही गर्न  हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो ।

त्यसयताका दिनहरूमा यो जघन्य अपराधमा  संलग्न भएका सबैलाई कारवाही गर्न र  तिनीहरूलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निष्प्रभावी नपार्न राजनीतिक दलहरू र अधिकारकर्मी तथा  नेपाली नागरिकहरू सडकमा धर्ना  र प्रदर्शन गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ । निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन  चाहन्छोैं । साथै, हामी यस सन्दर्भमा थप ध्यानाकर्षण गराउन चाहन्छौ ।

ज्ञापन पत्रमा भनिएको छ  देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरूलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव बेचविखनको कार्यमात्र होइन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गम्भीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएको छ ।

यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्च पदस्थ नेता, बहालवाला सांसद, उच्च पदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षड्यन्त्र गर्ने काम गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थति तिर लैजान खोजिएको देखिन्छ । नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद् भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको छ ।

विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गंभीतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौँ । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले  दृढतापूर्वक अनुसन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरून् भन्ने हाम्रो गम्भीर आग्रह छ । मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगर्न ज्ञापन पत्रमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्यवाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने भनिएको छ ।

the authoradmin