राजनीतिसमाचार

उत्पादनमूलक उद्योग प्रवर्द्धन गर्न ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानको घोषणा

नेपालअखबार, काठमाडौँ । सरकारले उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्नका लागि आगामी आर्थिक वर्षमा ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान सुरु गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले औद्योगिक प्रबद्र्धनका लागि उक्त अभियानको घोषणा गरेको हो ।

यो अभियानमार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने नीति सरकारले लिएको राष्ट्रपति रामचन्द्र पौडेलले बताए । कृषि क्षेत्रमा आधारित उच्च ज्ञान र सिपमा आधारित उद्योगको विकास गर्न औद्योगिक वातावरण निर्माण गर्ने, लगानीयोग्य पुँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्था समेत अन्त्य गर्ने सरकारको योजना छ ।

यस्तै, रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि व्यावसायिक तालिमलाई प्राथमिकतामा राख्ने समेत राष्ट्रपतिले बताए । यस्तै, सुरुवाती व्यवसाय सुरु गर्न आवश्यक पर्ने पुँजी सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउने समेत सरकारको योजना रहेको छ ।

नवप्रबर्तनको क्षेत्रमा काम गर्न चाहने युवाको दक्षता उपयोग गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने समेत राष्ट्रपति पौडेलले बताए । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन विदेशस्थित कूटनीतिक नियोग सक्रिय पार्ने तथा विदेशीलाई उद्योगमा लगानी गर्न प्रोत्साहन गरिने उनको भनाई छ ।

यस्तै, लामो समयदेखि बन्द तथा रुग्ण उद्योगलाई सञ्चालन गर्ने वा खारेजी तथा बन्द गर्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति समेत बन्ने घोषणा गरिएको छ । पुनः सञ्चालनको सम्भावना रहेको हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई पुनः सञ्चालनमा ल्याउने घोषणा समेत सरकारको छ ।

निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक क्षेत्र र आर्थिक क्षेत्रको पूर्वाधार निर्माण तथा सञ्चालनको व्यवस्था गर्ने, पहुँच मार्ग, प्रसारण लाइन लगानीकर्ताले नै लगानी गरेमा सरकारले रकम दिने व्यवस्था समेत नीति तथा कार्यक्रम मार्फत गरिएको छ । विद्युत् खपतमा सहुलियत उपलब्ध गराएर उद्योगको क्षमता विस्तारमा सहायो गर्ने तथा लघु घरेलु तथा साना उद्योगलाई बढावा दिनका लागि बिक्री केन्द्र सञ्चालन ल्याउने समेत राष्ट्रपति पौडेलले घोषणा गरे ।

आवश्यक पर्ने कानून व्यवस्थालाई एकीकृत गर्दै आत्मनिर्भर बन्न सक्ने वस्तु तथा सेवा पहिचान गरेर विकासमा सहयोग गर्ने व्यवस्था समेत सरकारले गरेको छ । यस्तै, स्वदेशी उत्पादनको मूल्य २० प्रतिशतसम्म महँगो भएपनि खरिद गर्ने व्यवस्था लागू गर्ने तथा निजी क्षेत्रबाट सुरु भएको मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई अघि बढाउने व्यवस्था समेत समेटिएको छ ।

यस्तै, हिमालको पानी प्रशोधन तथा बिक्री वितरणमा आवश्यक सहयोग गर्ने समेत राष्ट्रपति पौडेलले घोषणा गरे ।

the authoradmin