खेलकुदसमाचार

फाइभ नेशन्स कप बास्केटबलमा बंगलादेशमाथि नेपालको सानदार जित

नेपालअखबार, काठमाडौं । माल्दिभ्समा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेको छ ।

मालेमा भएको खेलमा नेपालले बंगलादेशलाई ९०-६१ ले हरायो । सुरुमा बंगलादेशले लगातार अग्रता बनाए पनि नेपालले पुनरागमन गर्दै पहिलो क्वाटरमै २५-२० को अग्रता लियो । त्यसपछि सबै क्वाटरमा नेपालले अग्रता बनाउदै २९ अंक अन्तरले खेल जितेको हो ।

दोस्रो क्वाटर पनि समान अंक जोड्दा नेपालले ५०-४० को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा नेपालले १९-१२ को अग्रता बनायो भने अन्तिम क्वाटर नेपालले २१ अंक जोड्दा बंगलादेशले ९ अंक मात्र जोड्न सक्यो ।

नेपालको लागि मनिस केसीले सर्वाधिक १७ अंक स्कोर गर्दा विजय बुर्जा, विनोद महर्जन र निश्चल महर्जनले १३-१३ अंक स्कोर गरे ।

पहिलो खेलमै भुटानसँग पराजित भएको नेपालले त्यसयता लगातार दोस्रो खेल जितेको हो । यसअघि नेपालले पाकिस्तानलाई पराजित गरेको थियो । लगातार दोस्रो जितपछि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

पहिलो खेलमा भुटानसँग खेल्दा नाडीमा चोट लागेका कप्तान सदिश प्रधानको अनुपस्थितीमै नेपालले लगातार दोस्रो खेल जितेको हो ।

नेपालको सहायक प्रशिक्षक नृपेश श्रेष्ठले सेमिफाइनल पुग्नका लागि बंगलादेशसँगको खेल महत्वपूर्ण रहेकोले यो जितले टिममा मनोबल बढेको बताए । उनले कप्तान सदिश सेमिफाइनलमा खेल्न सक्ने जानकारी दिए ।

नेपालले लिग चरणको अनतिम खेल आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

दक्षिण एसियाका पाँच राष्ट्र सहभागि च्याम्पियनसिपमा लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

the authoradmin