
नेपालअखबार, काठमाडौं । सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । शीर्ष नेताहरुको उपस्थिति रहेको बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार दिनको ३ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक गरिने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा( माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।
आजको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भएको बताईएको छ ।
समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन ।
मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल समेत सहभागी हुने बताइएको छ । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको बताईएको छ । समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुने बताईएको छ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति भएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मोर्चाले राजनीतिमा समाजवादी विचार सशक्त रुपमा प्रस्तुत गर्नेछ । मोर्चाले संसदभित्र र बाहिर समाजवादी विचारधाराको प्रचार गर्ने उहाँको भनाइ छ ।
मोर्चाले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिका खेल्ने नेता खतिवडाले बताउनुभयो ।

