नेपालअखबार, बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।
सामुदायिक वनमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।
लामो समयसम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलो बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।