प्रदेश ४राजनीतिसमाचार

‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

Nepal Akhabar

ने पालअखबार,पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ ।
प्रदेशसभाको चालु बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञाशाको सोमबारको प्रदेशसभामा जवाफ दिने क्रममा मन्त्री जुग्जालीले संघ सरकार मार्फत सञ्चालित आयोजनाहरुमा देखिएका समस्या समाधानका लागि पनि प्रदेश सरकारले पहल र समन्वय गरेको जानकारी गराउनुभयो ।
यातायातको राजस्व घरबाटै बुझाउन मिल्ने गरि अनलाईन प्रणालीमा लैजान लागिएको, पोखराको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको ट̭ायल परिक्षा बिहान ८।३० बजेदेखि सञ्चालन गरिएको, सवारी चालक अनुमति पत्र कार्यालय पोखरामा सेवाग्राहीलाई खानेपानीको व्यवस्था मिलाइएको मन्त्री जुग्जालीले बताउनुभयो ।
‘संघ सरकारसँग समन्वय गरेर प्रदेश सरकार मार्फतनै सवारी साधनको लाइसेन्स छपाई गरि वितरण गर्ने प्रक्रीया अगाडी बढाइएको छ,’ उहाँले भन्नुभयो ‘यसअघि एक÷एक वर्षमा हुने सवारी साधनको प्रदुषणको मापन अहिले छ÷छ महिनामा गर्न थालिएको छ । डुम्रे, नवलपुर र बाग्लुङको यातायात कार्यालयलाई डिजिटलाईजेशन गर्ने प्रक्रीया अघि बढेको छ ।’
बागलुङको यातायात कार्यालयबाट चार पाङग्रे सवारी साधनको चालक अनुमति पत्रको ट̭ायल शुरु गर्न लागिएको मन्त्री जुग्जालीले बताउनुभयो । बागलुङमा चार पाङग्रेको ट̭ायल हुँदा पोखरामा सेवाग्राहीको चाप घट्ने, महिनौ पालो पर्खनुपर्ने समस्या हट्ने र धौलागिरी क्षेत्रका सर्वसाधारणलाई सहज हुने मन्त्री जुग्जालीको भनाई थियो ।
पर्यटकीय नगरी पोखरामा यातायातको प्रदुषण नियन्त्रणका लागि यातायात व्यवसायी र सम्बद्ध निकायसँग छलफलमा रहेको जानकारी गराउदै ट्याक्सी सञ्चालनमा जवरजस्ती लागू गरिएको सिण्डीकेट तोड्न कदम चालिने मन्त्री जुग्जालीले बताउनुभयो ।
‘यातायात कार्यालयको सेवालाई प्रविधिसँग जोड्ने र प्रदेशमा सञ्चालित पूर्वाधार आयोजनालाई तिब्रताका साथ कार्यान्वयन गरी महशुस हुने गरि उपलब्धीमुलक काम गरिरहेका छौ,’ मन्त्री जुग्जालीले भन्नुभयो ‘संघ सरकारले गण्डकी प्रदेशमा सञ्चालन गरेका पूर्वाधार आयोजना कार्यान्वयनमा समन्वय र सहजिकरण गरेका छौ । प्रदेश मार्फत सञ्चालित आयोजनाहरुको अवस्था पहिचान गरिसकेका छौ ।’
मन्त्री जुग्जालीले बर्खायाममा प्रदेश सरकार मार्फत सञ्चालित सडकमा यातायात अवरोध हुन नदिने प्रतिवद्धता जनाउँदै संघीय सरकारबाट सञ्चालित मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरीडोर, पोखरा–मुग्लीन सडक आयोजना र सडक डिभिजन तथा स्थानीय तहहरुसँग समेत समन्वय गरेको बताउनुभयो ।
मध्य पहाडी लोकमार्ग अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरको पहिरोका कारण सिर्जना भएको जाम मन्त्रालय, आयोजना, पूर्वाधार विकास कार्यालय कास्की र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा बैकल्पिक सडक सञ्चालन गरेर हटाइएको मन्त्री जुग्जालीले संसदलाई जानकारी गराउनुभयो ।
चार, पाँच लाख बजेटका एउटै जिल्लामा ६ सय आयोजना र जनशक्ति कम हुँदा देखिएको समस्या हुँदा आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका योजनामा ३० लाखको थ्रेस होल्ड बनाएर नीतिगत सुधारको काम गरेको मन्त्री जुग्जालीको भनाई थियो ।
प्रदेश सरकार मार्फत सञ्चालित १७ वटा रुग्न आयोजनाका निर्माण कम्पनीको घरौटी जफत गर्ने, आरबिटेशन लगायत प्रक्रीया मार्फत दवाव सिर्जना गरेको जानकारी गराउदै मन्त्री जुग्जालीले काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । सांसद र सरोकारवालाहरुबाट प्राप्त सुझावले मन्त्रालयका आयोजना कार्यान्वयन र मातहतका कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सहयोग पुग्ने मन्त्री जुग्जालीको भनाई थियो ।

the authoradmin