राजनीतिविचारसमाचारहाइलाइट-समाचार

ललिता निवास प्रकरणका जो सुकैले कसुर गरे पनि दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल

Nepal Akhabar

नेपालअखबार, पाल्पा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको पत्रकार भेटमा उनले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ ।’ उनले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’

उनले ‘सिस्टम’ मा कुनै त्रुटि छ भने सच्याउनुपर्ने बताए । २०६६/६७ मा पेस भएको फाइल प्रधानमन्त्री निवासलाई विस्तार गर्दै अगाडि बढाउने योजना राम्रो लागेकाले काम अघि बढाउन निर्णय भएको उनले प्रस्ट पारे । ‘सरकारी र अन्य प्रकारको जग्गा कानुनसंवत् तरिकाले छुट्याएर मात्र काम अघि बढाउनु,’ उनले आफ्नो निर्णयमा लेखिएको व्यहोरा जानकारी गराउँदै भने । उनले यससँग जोडिएका, गिरोहका रुपमा रहेकालाई छाड्नुपर्ने अवस्था नरहेको बताए ।

यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको बताए । ‘नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको छ,’ उनले भने, ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ । होइन भने अवस्था अझ बिग्रिँदै जान्छ । राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’

ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडप्न विभिन्न व्यक्तिको मिलेमतो रहेको अनुसन्धानबाट खुलिसकेको छ । ललिता निवास प्रकरणमात्र होइन, सबै क्षेत्रमा भएका बदमासीको छानबिनमा खुट्टा कमाउन नहुने सुझाव दिए । फरक प्रसंगमा उनले वर्तमान सरकार आवश्यकताका आधारमा बनेको बताए ।

the authoradmin