Saturday, August 22

सङ्खुवासभाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि

नेपालअखबार,सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन्। विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन्।

Advertisement

विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए। सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ। पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन। पहिराबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिए।

Advertisement
Advertisement

‘भवन निर्माणका लागि बजेटको अभाव छ’, उनले भने। गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि पाँच लाख ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पहिरोपीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो। पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ।

Advertisement

जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन्। गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाख रूपैयाँमा खरिद गरिसकेको छ। तर भवन निर्माणको भने टुङ्गो लागेको छैन। रासस