Monday, July 6

नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा !

काठमाडौं– चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

Advertisement

अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ ।

Advertisement
Advertisement

चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको सीएनएनले उल्लेख गरेको छ ।

Advertisement

अन्य देशहरुमा प्रकोपको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म एकजना मात्र संक्रमित भएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

सरकारले हालसम्म कोरोनाको आशंकामा चीनबाट स्वदेश ल्याएर क्वारेन्टाइमा राखिएका १ सय ७५ जना नेपालीसहित २ सय १७ जनामा कोरोनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिसकेको छ ।

सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क पनि राख्यो । तर, त्यो हेल्थ डेस्क पर्यटन वर्ष लक्षित कार्यक्रमका लागि मात्र थियो ।

पर्यटक लक्षित हेल्थ डेस्कमा एकजना कन्सलटेन्ट डाक्टर, ३ जना मेडिकल अफिसर, ३ जना नर्स र ३ जना जनस्वास्थ्य अधिकृत खटिएका थिए ।

चीनबाहेक अन्य देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा खटिएका स्वास्थ्यकर्मीलाई चीन सहित ५ वटा देशबाट नेपाल आउनेहरुको कडा स्वास्थ्य निगरानी गर्न केही दिन अघि निर्देशन समेत दिइसकेको छ ।

अहिले त्रिभुवन विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङबाट आउने प्रत्येक व्यक्तिलाई थार्मोमिटरबाट ज्वरो परीक्षण तथा स्वास्थ्य जाँच गरेर मात्र छाड्ने गरिएको विमानस्थल हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले बताए ।

विज्ञ भन्छन्ः विमानस्थलबाट संक्रमण भित्रन रोक्नुपर्छ

सरकारले नेपाल आउने स्वदेशी तथा नेपाली पर्यटकलाई विमानस्थलमा स्वास्थ्य परीक्षण हुने दाबी गरेपनि स्वास्थ्यकर्मीहरु नै विमानस्थलमा हुने परीक्षण प्रभावकारी नभएको तर्क गर्छन् ।

जनस्वास्थ्य विज्ञ डा.रविन्द्र समीरका अनुसार नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ ।

विमास्थलमा जडान गरेको थर्मो स्क्यानर बिग्रियो !

चीनमा कोरोना भाइरसको संक्रमण पछि सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक व्यक्तिको ज्वरो परीक्षणका लागि दुईवटा थर्मल स्क्यानर जडान गरेको थियो । सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा इबोलाको रोग देखिएपछि नेपाल सरकारले खरिद गरेको दुईवटा थर्मो स्क्यानर खरिद गरेको थियो । सो थर्मो स्क्यानर इबोलाको संक्रमणको जोखिम अवधिभर विमानस्थलमा जडान गरिएको थियो । पछि इबोलाको त्रास कम भएपछि सरकारले सो थर्मो स्क्यानरलाई पनि विमानस्थलबाट हटाएको थियो ।

चीनमा कोरोनाको संक्रमण बढ्दै गएपछि गत माघ गते ४ वर्षअघि नै प्रयोग भइसकेको थर्मल स्क्यानर जडान विमानस्थलमा जडान गरियो । तर विमानस्थलमा थर्मो स्क्यानर जडान गरिएको एकसाता नपुग्दै एउटा स्क्यानर विग्रियो ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलको लागि ४ वटा थर्मल स्क्यान खरिद अघि बढाइसकेको जनाएको छ । तर, अहिलेसम्म भने थर्मोल स्क्यानर आइनसकेको विमानस्थल स्रोत बताउँछ ।

स्वास्थ्यकर्मी अभाव

चीनपछि कोरियासहित अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्रिभूवन विमानस्थलबाट नेपाल भित्रिने सबैको एक एक गरेर स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलका स्वास्थ्यकर्मीलाई सबैको स्क्रिनिङ गर्न निर्देशन समेत दिएका थिए । तर विमानस्थलमा रहेको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी अभाव भएकाले हरेक दिन नेपाल भित्रिने सबैको एक एक गरेर स्क्रिनिङ गर्न नसकिने जवाफ पठाएको स्रोतको भनाइ छ ।

विमानस्थल स्रोतका अनुसार विदेशी मुलुकबाट नेपाल भित्रिने स्वदेशी तथा विदेशी प्रत्येकको स्क्रिनिङ तथा यात्राको हिस्ट्री लिन अझै १२ जना कर्मचारी आवश्यक छ ।

तर विमानस्थलको हेल्थ हेस्कले सबैको स्क्रिनिङ गर्न स्वास्थ्यकर्मी पर्याप्त छैन भनेर जवाफ स्वास्थ्य मन्त्रालयलाई दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *