Monday, April 20

एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरूप एमालेले दोहोरो पद कटौती गर्ने

नेपालअखबार,काठमाडाैं। नेकपा (एमाले)मा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुखले पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन्।

एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरूप एमालेले दोहोरो पद कटौती गर्न लागेको हो।

Advertisement

शनिबार बसेको पार्टी सचिवालयको २३ औं बैठकले संघीय, प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिव चुनिन नपाउने निर्णय गरेको एक पदाधिकारीले बताए।

‘हामीले पार्टी दोहोरो जिम्मेवारी नदिने नीतिअनुरूप नै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिवमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसले कसैले पद नै नपाउने, कसैले दोहोरो जिम्मेवारी पाएर कतै पनि काम नहुने अवस्थाको अन्त्य गर्नेछ।’

एमालेले साउन १५ गतेसम्म सदस्यता नवीकरणको समय बढाएको छ। यसअघि असार १५ गतेभित्र नवीकरण गरिसक्न अन्तरपार्टी निर्देशन जारी भए पनि सदस्यता अद्यावधिक नभइसकेकाले साउन १५ गतेसम्म समयसीमा बढाइएको हो। गत वैशाखसम्म ४९ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको तथ्यांक केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो।

त्यस्तै, भदौ मसान्तसम्म प्रदेश कमिटीहरूको अधिवेशन गरिसक्ने कार्ययोजना बनाएको छ।

एमालेले २०८० साललाई अधिवेशनको वर्ष मान्दै चैत मसान्तभित्र जिल्ला र वडा तहका अधिवेशन सक्न निर्देशन दिएको छ।