राजनीतिसमाचार

पूर्व पश्चिम नहर बनाऔँ – कृषिमन्त्री भुसाल

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिँचाइ सुविधाका लागि पूर्व पश्चिम नहर निर्माणको आवश्यकता औँल्याउनु भएको छ  । कृषियोग्य जमिन पर्याप्त हुँदाहुँदै पनि सिंचाइ असुविधाले एक तिहाइ जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो  ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको वार्षिक समिक्षागोष्ठिलाई सोमबार बोल्दै मन्त्री भुसालले भन्नुभयो , ‘कुल खेतीयोग्य जमिनको झण्डै एक तिहाई जग्गा आजपनि बाँझो छ । प्रयाप्त पानी नपर्दा तराई क्षेत्रका किसालले धान रोप्न पाएका छैनन् । रापेको खेतको धाँजा फाटेको छ । किसानले निधारमा हात राखेर पीडाबोध गरिरहेको दृश्य देखिन्छ । यो सबै सिंचाई नहुँदा कृषिमा देखिएको समस्या हो । अब सिंचाइको सुविधाका लागि पूर्व पश्चिम नहर निर्माण गर्नुको विकल्प छैन् ।’

सिंचाईमा जोड दिदैँ मन्त्री भुसालले थप्नुभयो, ‘सिंचाई सुविधा बिना केही गर्न सकिदैन्, अब पूर्व पश्चिम नहर बनाएर अगाडि जानुपर्छ । यस विषयमा मैले निरन्तर कुरा उठाइरहेको छु । देशका ठूला ठूला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिन्छ ।’

देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासको कुरा गर्ने तर सिंचाईको सुविधा पुर्‍याउन नसक्नु दुर्भाग्य भएको उहाँले बताउनु भयो  । साथै मन्त्री भुसालले चैते धानको उत्पादनमा जोड दिंदै  प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उहाँको जोड थियो । भारतले चामल निर्यात रोकिसकेको भन्दै अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेती तर्फ किसानलाई आकिर्षत गर्नुपर्ने उहाँले बताउनु भयो  ।

विश्वमा खाद्यान्न संकट बढ्दै गएको प्रशंग निकाल्दै नेपालमा प्रयाप्त खेतीयोग्य जमिन रहेको हुँदा खाद्यान्न संकट आइनपर्ने बताउनु भयो  । खाद्यान्न संकट आउन नदिन बाँझो जग्गाको उपयोग गरी सिंचाईमा लगानी लगाउनुपर्ने बताउनु भयो  । उत्पादन वृद्धिमा सँगसँगै बीउबिजन र रासायनिक मल पनि रहेको बताएर जमिन, सिंचाई, बीउ र रासायनिक मल हुँदा मात्र कृषिको उत्पादन बढ्ने उहाँको तर्क थियो ।

मन्त्री भुसालले बाँझो जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो  । जमिनको चक्लाबन्दी गर्नुपर्ने भन्दै मन्त्रायलले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनु भयो  ।

मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान कृषि र पशुपालनको क्षेत्रबाट मात्र सम्भव भएको बताउनु भयो  ।  ‘अहिले देखिएको अर्थतन्त्रको समस्या कृषि र पशुपालनबाट मात्र समाधान हुन सक्छ । कृषिमा लगानी लगायाँ भने ६ महिनामै प्रतिफल दिन्छ । यति धेरै महत्वको क्षेत्रलाई हामी नजरअन्दाज गर्न सक्दैनौं मन्त्री भुसालले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रलाई बलियो पार्न र तत्काल देखिएको समस्या समाधान गर्ने भनेकै कृषि र पशुपालनबाट हो ।’

the authoradmin