राजनीतिसमाचार

क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई मन्त्री ज्वालाको निर्देशन

Nepal Akhabar

नेपालअखबार, काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सोमबारदेखि परेको अविरल वर्षाले देशभर ठुलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्‍याएको छ ।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत- जावत पूर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिनुभएको हो  ।

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ ।
अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरूलाई निर्देशन दिनुभएको छ  । मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमायास्याङतानको निधन भएकोमा दुख व्यक्त गर्दै  सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिनुभएको छ ।

the authoradmin