Wednesday, May 13

एमालेको नाराबाजी र वेल घेराउपछि प्रतिनिधि सभा बैठक स्थगित

नेपालअखबार, काठमाडाैं। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।

एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेका हुन्।

Advertisement

उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए।

एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद बैठक चल्न नसक्ने बताए।

सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको छ।

सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ।

मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सांसदहरूले उठाएका प्रश्नमाथि प्रतिनिधि सभा बैठकमा जवाफ दिएका थिए।

संसद अवरोध हटाउन सभामुख घिमिरेको पहलमा सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच पटकपटक छलफल भए पनि निचोड निस्किएको छैन।