Saturday, May 23

माओवादी बैठकमा गृहमन्त्री श्रेष्ठले भने- दोषी भए महराजी पनि कारबाहीको भागिदार हुनुपर्छ

नेपालअखबार, काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पनि कारबाहीको भागिदार हुनुपर्ने बताएका छन्।

आइतबार बसेको माओवादी पदाधिकारी एवम् सरकारका मन्त्रीहरूको बैठकमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

Advertisement

‘गृहमन्त्रीजीले सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सरकारले गरिरहेको कामको बिफ्रिङ गर्नुभएको थियो,’ एक पदाधिकारीले भने, ‘हाम्रै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराजीको बारेमा पनि सिआइबीको रिपोर्ट मिडियामा आएका समाचारबारे  जानकारी गराउनुभएको थियो। दोषी भए कसैलाई पनि नछोड्ने पदाधिकारीमा समझदारी छ।’

माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महरा इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन्। महराका राहुलले छोरा सुन ल्याउने चिनियाँ नागरिकसँग पटक-पटक फोन गरेको तथ्य सिआइबीले फेला पारेको छ।

गत १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा पनि सुन प्रकरणबारे कुरा उठेपछि महराले आफू त्यसमा नजोडिएको र दोषी देखिए कारबाहीको भागिदार बन्ने बताएका थिए। तर सरकारले भ्रष्टाचार प्रकरणमा माओवादी केन्द्रका नेताबाहेक अरूलाई मात्रै धमाधम पक्रिएको भन्दै केही प्रश्नहरू उठेका छन्।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकमा गृहमन्त्री श्रेष्ठले सञ्चारमाध्यममा आएका समाचार, सामाजिक सञ्जालमा भइरहेको विरोध र आफ्नै पार्टीका उपाध्यक्षको शंकास्पद संलग्नताबारे जानकारी गराएका थिए।

आइतबार नै बसेको माओवादी पदाधिकारी तथा सरकारमा संलग्न माओवादीका मन्त्रीहरूको बैठकले संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको पनि गरेको छ।