राजनीतिसमाचार

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

नेपालअखबार, काठमाडौँ । सुन तस्करीको छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा एमालेले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए । एमाले सांसद उठिरहेकै बेला कांग्रेस सांसद सुनीलकुमार शर्मा पनि आसनबाट उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शर्मालाई आफ्ना कुरा छोटकरीमा राख्न समय दिए ।

सांसद शर्माले आफूले सुन तस्करीका नाइकेलाई पक्राउ गर्नुपर्छ भनेर बोलेपछि आफुलाई सरकारले पक्राउ गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागे । शर्मा बोलिसकेपछि सभामुखले एमाले सांसद मानबहादुर राईलाई बोल्न दिए । राई बोल्न लाग्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माको अभिव्यक्तिप्रति आपत्ति

जनाउदै संसदको रेकर्डबाट हटाउन माग गरे । राई बोलिसकेपछि सभामुखले बैठकलाई कार्यसूची अनुसार अघि बढाउने तरखर गरेपछि एमाले सांसदहरु नाराबाजीमा उत्रिए । उनीहरुलाई आसन ग्रहण गर्न सभामुखले पटक पटक आग्रह गरेपनि नसुनेपछि र नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले भदौ ३ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । उसले तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

the authoradmin