राजनीतिविचारसमाचार

सबैभन्दा पारदर्शी नेता नै माधव नेपाल हो: सुदेश पराजुली

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका युवा नेता सुदेश पराजुलीले जीवित शीर्ष नेता मध्य सबैभन्दा पारदर्शी नेता माधवकुमार नेपाल भएको दाबी गर्नुभएको छ।

बुधबार उज्यालो नेटवर्कसँगको अन्तरवार्तामा नेता पराजुलीले जीवित नेतामध्ये सबैभन्दा पारदर्शीे नेता अध्यक्ष नेपाल भएको दाबी गर्नुभएको हो।

अनेरास्ववियूका निवर्तमान अध्यक्षसमेत रहेका नेता पराजुलीले लतिला निवास प्रकरणमा अध्यक्ष नेपालको कुनै दोष नभएको समेत ठोकुवा गर्नुभयो।

नेता पराजुलीले भन्नुभयो, ‘सरकारको नेतृत्वमा पुगेर वा प्रधानमन्त्री बन्दा कुनै पनि त्यस्ता गलत कार्य गर्नुभएन भन्ने हामीलाई लाग्छ। तर, ललिता निवास प्रकरणमा उहाँको नाम आएको छ। हामीले भनेकै छौं कि उहाँमाथि छानविन गरियोस्। हामीलाई विश्वास छ, जीवित शीर्ष नेता मध्य सबैभन्दा प्रष्ट र पारदर्शी नेता नै माधव नेपाल हो।’

उहाँले अगाडि भन्नुभयो, ‘कुनै पनि व्यक्ति र मुद्धामा जोडिएर कसैको नाम आउछ भने छानविन गर्ने अधिकार सरकारसँग छ। छानविन गर्नुपर्छ। बदनाम गर्ने तर, छानविन नगर्ने भन्ने पनि हुन्छ? त्यसैले दोषिमाथि कारबाही गर्नुपर्छ। निर्दोषलाई बदनाम गर्न पाइँदैन। माधव नेपाल, बाबुराम भट्टराईलाई हामीले दोषी करार गर्ने होइन। राज्यका स्वतन्त्र निकाय छन्। संवैधानिक निकाय छन्। उनीहरुले निश्पक्ष छानविन गर्नुपर्यो।’

पराजुलीले संघीय गणतन्त्रमा सबैका लागि कानून बराबर हुनेभन्दै प्रश्न उठेका नेता र अन्य नागरिकबीच फरक नदेखिने गरी छानविन गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘संघीय गणतन्त्र नेपालको कानून सबैलाई बराबर छ। तर, अनुसन्धानको प्रक्रिया कसरी गर्ने? के गर्ने ? बयान लिने कि नलिने? त्यो राज्यका निकायहरूको काम र अधिकार हाे। कतिपय अनुसन्धानको प्रकृति फरक हुन्छ। त्यहिअनुसार राज्यका निकायले काम गरेको पनि हुनसक्छ। हामीले यस्ता संवेदनशील मुद्धामा सुष्म विश्लेषण गर्नुपर्छ।’

सामान्य नागरिकले सतहमा आएका कुरालाई सुनेर बनाउने दृष्टिकोण र राज्यका जिम्मेवार निकायले निकाल्ने परिणाम फरक पर्ने भएकाले सबैले संवेदनशील हुन नेता पराजुलीको आग्रह छ। माधवकुमार नेपालमाथि छानविन गर्दैमा सरकार ढलिहाल्ने भन्ने कुरा नआउने भन्दै नेता पराजुलीले सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिनुभएको छ।

the authoradmin