Monday, April 20

बागमती सरकारले ३ दिनसम्म संविधान दिवस मनाउने

नेपालअखबार, मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रम गरेर ३ दिनसम्म संविधान दिवस मनाउने भएको छ । प्रदेश सरकारको गत भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ दिनसम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले संविधान जारी भएको दिन असोज ३ गतेको अवसरमा मनाइने संविधान दिवसमा सरसफाइ, झन्डोत्तोलन, स्वास्थ्य शिविर तथा वृक्षारोपण लगायतका कार्यक्रम गरिने बताएको हो । संविधान दिवस मनाउनका लागि सरकारले मुख्यमन्त्री शालिकराम जम्कट्टेललको नेतृत्वमा ४७ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यमा प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय, सुरक्षा निकाय, कार्यालय र सरोकारवाला पक्षहरू रहेका छन् ।

Advertisement

असोज २, ३ र ४ गते संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालय, कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, तीनै दिन मन्त्रालय, कार्यालय र सार्वजनिक तथा शैक्षिक निकायहरूमा दीपावली गर्ने, असोज ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशेष कार्यक्रम गर्ने, मन्त्रालय तथा कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, सबै कार्यालयका वेबसाइटमा ‘संविधान दिवस २०८०’ लेखिएको ब्यानर राखिने छ ।

त्यस्तै असोज २ गते स्वास्थ्य मन्त्रालय मार्फत प्रदेशका १३ जिल्लामा मधुमेह तथा रक्तचापको निः शुल्क परीक्षण गर्ने, हेटौँडामा रक्तदान कार्यक्रम आयोजना गर्ने, वन तथा वातावरण मन्त्रालय मार्फत १३ जिल्लामा वृक्षारोपण गर्ने उनले बताए । असोज ३ गते हेटौँडाको बुद्ध चोक, सीमा चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्राङ्गणसम्म झाँकीसहित प्रभातफेरी गरी प्रदेश प्रमुखको आतिथ्यमा विशेष कार्यक्रम गर्ने, सामाजिक विकास मन्त्रालय मार्फत खेलकुदका कार्यक्रम, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय मार्फत हस्तकला प्रदर्शन, सञ्चार रजिष्ट्रार कार्यालयबाट लेखन लगायतका कार्यक्रम आयोजना गरिने उनले बताए ।