Sunday, May 31

ज्युँदा सहीद रेग्मीलाई विपी स्मृति पुस्तकालयद्वारा सम्मान

नेपालअखबार, पोखरा । ज्युँदा सहीदका रुपमा परिचित स्याङ्जा जिल्लाका खगेन्द्र रेग्मीलाई विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सम्मान गरेको छ ।

लामो समयदेखि विपी सिद्धान्तलाई आत्मसात गर्दै प्रजातन्त्रका पक्षमा काम गरेका रेग्मी स्वास्थ्य अवस्थाका कारण यही भदौ २४ गते विपी जयन्तीका अवसरमा गरिएको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेपछि उहाँ हाल रहेकै स्थानमा पुगी सम्मान गरिएको हो । रेग्मी हाल स्वास्थ्यलाभका लागि भरतपुरस्थित पारसनगरमा आफन्त विश्वराज पौडेलको निवासमा आराम गरिरहनुभएको छ । उहाँलाई २५ हजार रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला, रुद्राक्षको माला एवम् शालिग्राम प्रदान गरी सम्मान गरिएको हो ।

Advertisement

सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफुले रेग्मीको हरेक सुखदुःखमा साथ दिएको र उहाँले पनि आफ्ना हरेक सुखदुःखमा साथ दिएको अनुभव व्यक्त गर्नुभयो ।

टोल टोलमा पुगी जनताको जीवनमा परिवर्तन ल्याउन रेग्मीले महत्वपूर्ण योगदान दिनुभएको उल्लेख गर्दै उहाँले प्रजातन्त्रको पक्षमा अहोरात्र खटेर काम गर्नुभएको र कहिल्यै विश्राम नलिनुुभएको जानकारी गराउनुभयो ।

रेग्मीलाई जतिसुकै अप्ठेरो परिस्थितिमा श्रीमतीले साथ दिनुुभएको उहाँले स्मरण गर्नुभयो । वर्तमान अवस्थामा नेपाली काँग्रेस र प्रजातन्त्र दुवै संकटमा पुगेको उल्लेख गर्दै उहाँले रेग्मीको पुनः एकपटक योगदान चाहिएको बताउनुुभयो ।

लामो समयदेखि पार्टीमा लागेका, प्रजातन्त्रका पक्षमा लडेका परिवारलाई नेतृत्वमा पु¥याउन सकेमा प्रजातन्त्रको भविष्य अझ सुन्दर बन्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीले पुर्याएको योगदान भावी पुस्तका लागि प्रेरणादायी भएको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य राजु थापाले रेग्मीको जीवनी र व्यक्तित्व बारे प्रकाश पार्दै स्याङ्जाको इतिहासमा ज्युदा सहीद रेग्मीले जिल्लामा तीन कार्यकाल पार्टीको नेतृत्वमा रहेर काम गर्नुभएको स्मरण गर्नुभयो ।

प्रतिवन्धित अवस्थामा पनि नेपाली काँग्रेसलाई क्रियाशील बनाउन निरन्तर लाग्नुभएको बताउँदै उहाँले द्वन्द्वको समयमा सशस्त्र माओवादीबाट गोली चली घाइते भएका रेग्मी एउटा सानो प्रयासबाट हामी माझ रहनुभएको उल्लेख गर्नुुभयो ।