Thursday, July 30

गृहमन्त्रालयमा भएको शिक्षकहरूसँग छलफल निष्कर्षविहीन

नेपालअखबार, काठमाडाैं। आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ।

Advertisement

बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

Advertisement
Advertisement

गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए।

Advertisement

सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको गिरीले जानकारी दिए।

छलफल सकारात्मक भएपनि आन्दोलन रोक्नेबारेमा निष्कर्ष ननिस्किएको उनले बताए। ‘अर्को बैठक छिट्टै बस्नेगरी आजको बैठक टुंगिएको छ,’ उनले भने।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफलमा आफूले काठमाडौंको शान्ति सुरक्षाबारे कुरा गरेको बताए।

‘आन्दोलनलाई शान्तिपूर्ण बनाउन, निषेधित क्षेत्र नतोड्न, सवारी आवागमन अवरोध नगर्न लगायतका विषयमा छलफल भयो,’ उनले भने। एजेन्डाहरूको विषयमा थप छलफल गर्नेगरी आजको बैठक टुंगिएको प्रजिअ बस्नेतले जानकारी दिए।