राजनीतिसमाचार

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताउनु भएको छ ।

शनिबार नेपाल तामाङ सङ्घ (समाजवादी ) को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको  उद्घाटन गर्दै उहाँले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको बताउनु भयो  ।

मुलुकमा कुनै वर्ग माथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले त्यस्तो कार्यविरूद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रुपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । देशको हरेक परिवर्तन सफल पार्न सो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उहाँले उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण अपेक्षाकृतरूपमा हुन नसकेकाले अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सबै समुदायका धर्म, संस्कृति संरक्षण तथा अधिकार स्थापित गरी सदियौँदेखि कायम रहिआएको धार्मिक सहिष्णुतालाई जोगाउन प्रत्येक नेपालीको दायित्व रहेको उल्लेख गर्दै मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन कायम हुने विश्वास व्यक्त गर्दै अबको क्रान्ति समाजवाद सहितको आर्थिक उत्पादनमा हुनुपर्नेमा जोड दिनुभयो ।

the authoradmin