नेपालअखबार, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् ।
चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए ।
त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो ।