प्रशासनसमाचार

तनहुँमा मेडिकल सञ्चालन गर्ने गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना

नेपालअखबार, तनहुँ। अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन्।

तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको थियो।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैं औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको आरोप लगाइएकोे छ।

म्याग्देमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को उक्त कार्यक्रम वडा नं ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त वडामा ३६  बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका रोजगार शाखा प्रमुख पविन्द्रकुमार शाहीले जानकारी दिए।

रोजगार कार्यक्रममा सहभागी हुनेलाई सोमबार एक कार्यक्रमका बीच सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रोजगार कार्यक्रममा सहभागी हुनेलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाले सञ्चालन गर्ने योजनामा बेरोजगारलाई रोजगारीको व्यवस्था गरिएको बताए।

उनले भने, ‘गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विकासे योजनामा बेरोजगार सूचीमा सूचीकृत भएकालाई पहिलो प्राथमिकता दिन्छौं।’ गाउँपालिकाले आन्तरिक बजेटबाट सुरक्षा सामग्री खरिद गरेको हो । यसअगाडिका वर्षहरूमा सङ्घीय सरकारबाटै सामग्रीका लागि बजेट आउने गरेकामा तीन वर्षदेखि भने गाउँपालिकाले आन्तरिक स्रोतबाटै सामग्री खरिद गरी वितरण गरेको रोजगार संयोजक शाहीले बताए।

गाउँपालिकाका सातवटा वडामा तीन सय १७ बेरोजगार सूचीकृत भएका छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा ६८ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्दैछ। उनीहरूलाई रोजगारवापत प्रतिदिन रु छ सय ६८ प्रदान गरिनेछ।

कार्यक्रमअन्तर्गत नाला निर्माण, चौतारा निर्माण, बाटोघाटोको अलवा साझेदारी कार्यक्रमअन्तर्गतका योजनामा खटाउने तयारी गरिएको छ । संयोजक शाहीले भने, ‘गाउँपालिकाले लागत साझेदारीमा सञ्चालन गर्ने योजनामा उहाँहरूलाई रोजगारी प्रदान गरिनेछ।’ वडा नं ४ बाट सुरु भएको रोजगार कार्यक्रम क्रमशः सबै वडामा सञ्चालन गरिने उनको भनाइ छ।

सोही कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरबास निर्माणलगायतका काम हुँदै आएका छन्। रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रमअनुसार बेरोजगार सूचीमा सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन्। कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्नुपर्छ।  रासस

the authoradmin