Monday, May 11

पर्वतको केराबारीमा पहिरो, मालढुंगा–बेनी सडक अवरुद्ध

नेपालअखबार, म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ।

केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए।

Advertisement

यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ। पहिरो खस्नसमेत रोकिएको छैन। वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उनले बताए।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा थन्किएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन्।

केही साना सवारीसाधन भने बागलुङतर्फबाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ।   रासस