
नेपालअखबार,खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो।
श्रीमान-श्रीमतीबीच घरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए।
प्रहरीले हत्या आरोपित दावालाई गएराति नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए। बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।

