नेपालअखबार, काठमाडौं । कृषि तथा पशुपञ्छी विकास मन्त्री डा.बेदुराम भुसालले केराको पानामा ओइलाउने रोग (टि.आर.–४) समयमै पत्ता लाग्दा जोखिमबाट केरा खेतीलाई बचाउँन सफल रहेको बताएका छन् । साथै उनले देशका बिभिन्न क्षेत्रमा कृषि क्षेत्रमा देखिएको रोग एवं समस्या पहिचान र त्यसको समाधानका लागि जुटन निर्देशन दिएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)द्धारा आयोजित केराको पानामा ओइलाउने रोग (टि.आर.–४) को निदान विषयक तीन दिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा सहभागि मन्त्री भुसालले यो रोगको पहिचान र समस्या समाधानमा मन्त्रालय सुरु देखी नै गम्भिर रुपमा लिएर अगाडी बढेको बताए । ‘यो प्रशिक्षणले प्राविधिकहरुको क्षमता बढाउँने काम गरेको छ । हामी सुरु देखी नै यसलाई गम्भिर रुपमा लिएर त्यसको अनुसन्धानमा जुटेकाले केरा खेतीलाई बचाउँन सफल भयौं’ मन्त्री भुसालले भने, ‘अब हामीले यहाँ सिकेका कुरा वास्तविक रुपमा प्रयोगमा ल्याउँने छौं ।
किसानको समस्या र कृषिका रोगको पहिचान र त्यसको समाधान गरेर कृषि क्रान्तिलाई अगाडी बढाउँन यहाँका बैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिकहरु सक्षम रहेको प्रमाणित भएको छ ।’ केरामा आयात हुने रोगको अवस्था बुझ्न जरुरी रहेको बताउँदै उनले तालीमबाट प्राप्त ज्ञान एवं सीप तत्कालै फिल्डमा गएर लागु गर्नुपर्ने बताए । युवा वैज्ञानिकहरुले अरुभन्दा बढी अनुसन्धानमा विशेष मेहनत गर्नुपर्ने मन्त्री भुसालले बताए ।
कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले केरा खेतीमा देखिएको रोग पत्ता लगाउँनेदेखी त्यसको समाधानका लागि मन्त्रालय शुरुदेखी नै गम्भिर रुपमा लागेको बताए । कृषि क्षेत्रका समस्या एवं रोगहरु पत्ता लगाउँने र त्यसको समाधान गर्दै अगाडी बढने बैज्ञानिकहरुको साथमा मन्त्रालय रहेको उनले बताए । रोग पत्ता लगाउँने क्षमता बृद्धि भएको बताउँदै उनले तालीमबाट सिकेका सीप अब फिल्डमा गएर कृषि र किसानको प्रगतिका लागि लागु गर्नुपर्ने शर्माले बताए ।
नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले सहकार्य, समन्वय गर्दै कृषि क्षेत्रमा देखिएका रोग एवं समस्या पहिचान गर्दै त्यसको समाधान गर्दै अगाडी बढेको बताए । कृषि क्षेत्रमा देखिएको बिभिन्न समस्याको समाधान गर्दै नार्कलाई एक उच्चस्तरको संस्थाको रुपमा बिकास गर्दै आगाडी बढेको उनले बताए । कृषि एवं किसानका समस्या समयमै पहिचान गर्दै त्यसको समाधानका उपाय खोज्ने र लागु गर्दै अगाडी बढने उनले बताए । केरामा देखिएको रोगको पत्ता लगाउँने र सो रोगको रोकथामका लागि काम गरेका बैज्ञानिकका टिमलाई उनले धन्यावाद व्यक्त गरे । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका बैज्ञानिक डा. रामबहादुर खड्काले १४ सेसनमा सहभागिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बिज्ञबाट प्रशिक्षण दिइएको बताए ।
यस रोगको नमुना संकलन देखी लक्षणको निदान, रोगको कल्चर लगायतका बिषयमा सहभागिहरुलाई प्रशिक्षण दिइएको उनले बताए । समान्यतया पानामा रोगले स्थानीय मालभोग केरालाई क्षति पुर्याउने गरेको तर टि.आर.–४ प्रजातिको प्रवेश पछि नेपालको केरा उद्योगमा ठुलो क्षति पुग्ने आँकलन गरि त्यो क्षतिबाट समयमै केरा जोगाउन अपनाइएका बिभिन्न उपायहरु मध्ये यो तालिमले कृषि प्राविधिकहरुलाई कृषकस्तरमा टि.आर.–४ रेस पत्ता लगाउने तरिका र तिनको व्यवस्थापनका उपलब्ध उपायहरु बारे बिस्तृत प्रशिक्षण दिइएको खडकाले बताए । ललितपुरको खुमलटार स्थित राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रको सभाहलमा तीन दिनसम्म प्रशिक्षण भएको थियो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, बाली क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रको संयुक्त आयोजना र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सहयोगमा सो प्रशिक्षण सम्पन्न भएको हो ।
सो तालीममा बाली संरक्षणमा काम गर्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क), बाली क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र, कृषि क्याम्पसका विद्यार्थीहरु, बिभिन्न प्रादेशिक कार्यालयका प्राविधिकहरु सहित २५ जनाको सहभागिता रहेको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बशिष्ठ आचार्यले जानकारी दिए । सहभागिहरुलाई डा.रामबहादुर खड्का, डा.रेशमबहादुर अमागाई, विमला पन्त, प्रकाश पौडेल, देवराज अधिकारी, फाजिल डुसुन्सेली, सिजुन जेङ लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागिहरुलाई मन्त्री भुसालले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रशिक्षणको समापन कार्यक्रममा नार्कका योजना तथा समन्वय निर्देशक डा.लुमानिधि पाण्डे, बाली तथा बागवानी अनुसन्धान निर्देशक टिकाबहादुर कार्की, राष्ट्रिय बाली संरक्षण संगठनका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्य, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका कार्यक्रम विशेषज्ञ अर्जुनसिंह थापा, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो ।