नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा चार र नवलपरासीमा एक नयाँ सङ्क्रमित थपिएको जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या १९७ पुगेको जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका एक जना छ वर्षीय बालक र वर्ष १७ की एक महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
उनका अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४५ का एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएपछि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको छ ।
हालसम्म गण्डकी प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४३, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये नौ महिला छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो ।
हालसम्म सङ्क्रमितमध्ये ११ उपचारपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा छ हजार ८५२ को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ३४ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये अझै एक हजार ६२६ को नतिजा आउन बाँकी रहेको निर्देशनालयअन्तर्गतको प्रादेशिक आपत्कालनी कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।
प्रयोगशालाबाट नजिता आउन ढिलाइ भएपछि प्रदेश सरकारले प्रयोगशालाको क्षमता वृद्धि गर्न थप पिसीआर मेसिन खरिदको प्रक्रिया अघि बढाएको छ । रासस