प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना जित्नेको संख्या १६ पुग्यो, शनिबार ४ जना डिस्चार्ज भए

Nepal Akhabar

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा १६ जनाले कोरोना जितेर घर फर्केका छन् । शनिबार, ४ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नवलपुरका १, बागलङका २, कास्की र गोरखाका एक, एक गरि ४ संक्रमित शनिबार निको भएर घर फर्केका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरको मध्यबिन्दु अस्पतालको आईसोलेसन कक्षमा उपचाररत सोहि जिल्लाको कावासोती नगरपालिका, १२का २६ वर्षिय १ पुरुषले शनिबार कोरोना जितेर घर फर्केका छन् । उनलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
यस्तै, बागलुङको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचाररत सोहि जिल्लाको तमानखोला गाउँपालिका, ३ का २१ वर्षिय २ पुरुषहरु निको भएर घर फर्केका छन् । सबैभन्दा पहिलो गण्डकी प्रदेशमा संक्रमित भेटिएको जिल्ला पनि बागलुङ नै हो । यसअघि पनि दुई जना संक्रमित बागलुङबाट निको भएर घर फर्कि सकेका छन् ।
कास्कीका पहिलो संक्रमित पनि निको भएर घर फर्के
शनिबार निको भएर घर फर्कनेमा कास्कीका पहिलो कोरोना संक्रमित पनि छन् । कोठामा बेहोस फेला परेका उनलाई पोखराकै अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको स्वाब जाँच गर्दा काठमाडौंमै कोरोना पुष्टि भएको थियो । हेम्स अस्पतालमा कोरोनको संक्रमण पुष्टी भई सोहि अस्पतालमा उपचाररत पोखरा महानगरपालिका, ८ निबासी ६० वर्षिय १ पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कोरोना पुष्टी भई सोहि अस्पतालको आईसोलेसन कक्षमा उपचाररत गोरखा आरुघाट गाउँपालिका, २ का २५ वर्षिय १ पुरुष पनि निको भएर घर फर्केका छन् । स्वास्थ्य निर्देशनालयले सम्बन्धित जिल्लाको अस्पताललाई उद्धृत गर्दैै यो जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा पछिल्लो अपडेटअनुसार संक्रमित कुल संख्या १९७ पुगेको छ भने १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

the authoradmin

Leave a Reply