राजनीतिविचारसमाचार

एकीकृत समाजवादीकाे विधान सम्बन्धि पार्टी प्रदेश अध्यक्षहरूले धारणा राखे

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं कमिटी वैठक जारी छ।

ललितपुरको बालकुमारी स्थित कान्तिपुर गार्डेनमा जारी वठैकमा पार्टीका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहनु भएको छ। वैठकको पहिलो दिन १५ जनाले आफ्ना धारणा राख्नु भएको थियो भने दोस्रो दिन ८० जना केन्द्रीय सदस्यले धारणा राख्नु भएको छ।

वैठक बुधबारदेखि सुरू भएको हो। विधान संशोधन सम्बन्धि जारी छलफलमा भाग लिएका प्रदेश कमिटीका अध्यक्षहरूका धारणालाई यहाँ प्रस्तुत गरेका छौं:

व्यक्ति केन्द्रीत विधान बन्नु हुँदैन: बलदेव चौधरी (अध्यक्ष-कोशी प्रदेश कमिटी) 

पार्टीको कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले उमेर हद कायम गर्नुपर्ने बताउनु भएको छ। उहाँले विधानबारे सोधिएका १० प्रश्न अपुग रहेको बताउँदै आफूले थप धारणा राखेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेको विधान नेताका निम्ति मेरो सिट कहाँ सुरक्षित कहाँ छ? भन्ने खालको छ। यसो गरिनु हुँदैन। पार्टी कतौ लैजाने, पार्टीको संरचना कस्तो बनाउने चिन्ता देखिएन। पार्टीको हितलाई मध्यनजर गरेर विधान लागु गर्नुपर्छ। व्यक्ति केन्द्रीत विधान बन्नु हुँदैन।’

अध्यक्ष चौधरीले ५० वर्ष मूनिका ५० प्रतिशत युवा नेताहरू पार्टीको केन्द्रीय कमिटीमा सहभागि हुने व्यवस्था गर्न माग गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘नेतृत्वमा युवाहरुले नेतृत्व गर्न सक्दैनन् भन्ने विश्वास छैन। यसरी त भएन नि। अर्कोतर्फ नेतृत्वको कार्यकाल तोक्नुपर्छ। दुई कार्यकाल तोकेर जानुपर्छ। महाधिवेशनको तयारीमा छ। हामीले पार्टीलाई रुपान्तरण गर्ने खालका अभियान चलाउन पर्छ। हाम्रो पार्टीको टाउको चल्यो। खुट्टा चलेनन् । नल्याइ नहुने बाहेक चुनेर आउनु पर्छ। पदाधिकारी घटानउनुपर्छ। केन्द्रीय कमिटी एक सय ९९, प्रदेश कमिटी १०१, जिल्ला कमिटी ७५, महानगर ५९, उपमहानगर ५५, नगर कमिटी ५१, पालिका ३५ र वडा २५, टोल १५ सदस्सीय कमिटीको हुनुपर्छ। प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्नुपर्छ।’

उमेर हद आवश्यक छैन: रामचन्द्र यादव (अध्यक्ष-मधेश प्रदेश) 

पार्टीको मधेश प्रदेश कमिटी अध्यक्ष रामचन्द्र यादवले उमेर हद आजको दिनमा आवश्यक नरहेको दाबी गर्नु भएको छ। जारी वैठकको दोस्रो दिन आफ्ना धारणा राख्दै उक्त दाबी गर्नु भएको हो। उहाँले भन्नुभयो, ‘७० वर्षे उमेर काम गर्न सक्ने उमेर त होइन। तर, हाम्रो पार्टी बन्दै गरेको अवस्था छ। हाम्रो पार्टीमा युवाहरू सहभागिता उल्लेखनिय हुनुपर्छ। समावेशी कमिटी निर्माण गर्नुपर्छ।’

त्यस्तै अध्यक्ष यादवले केन्द्रीय कमिटीको संख्या १७५ भन्दा बढि हुन नहुने बताउनु भयो। उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीको संख्या १५५ देखि १७५ सम्म भए राम्रो हुन्छ।  प्रदेश कमिटी १०५ सदस्सीय हुनुपर्छ। त्यस्तै केन्द्रीय कमिटी चयन गर्ने र त्यसले नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ। हामीले एमालेमा हुँदा आठौं र नवौं महाधिवेशनमा प्रत्यक्ष चयन गरेका थियौं। केही समस्याहरु आएका थिए। त्योबाट पाठ सिकेर केन्द्रीय कमिटीले चयन गर्ने कुरा कम्युनिष्ट पार्टीका निम्ति उचित कुरा हो।’

३०३ सदस्सीय केन्द्रीय कमिटी हुनुपर्छः सावित्रा भुसाल (अध्यक्ष-बागमती प्रदेश कमिटी)

पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले केन्द्रीय कमिटी ३०३ सदस्सीय हुनुपर्ने सुझाव दिनु भएको छ। वैठकमा प्रश्नावलीका रुपमा बाढिएका १० प्रश्नको जवाफसँग आफ्नो धारणा राख्ने क्रममा भुसालले उक्त सुझाव दिनुभएको हो।

अध्यक्ष भुसालले पार्टीको केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने सुझाव दिनु भएको छ। उहाँले भन्नुभयो, ‘हलले भन्दा पनि केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्छ। त्यसरी चयन गरिएको अध्यक्षले मनोमानी गरेको खण्डमा हटाउन सकिन्छ। तर, प्रत्यक्ष हलले चयन गर्ने हो भने अनेकन समस्याहरु आउछन्। त्यस्तै उमेर हदको कुरा पनि छ। पार्टीमा उमेर हद हटाउनु पर्छ। ४० वर्षमूनि २० प्रतिशत, ४०देखि ५० वर्षको १५ प्रतिशत र ५० देखि ७० वर्षको उमेर ५० प्रतिशत र ७० भन्दामाथि १५ प्रतिशत हुनुपर्छ भन्ने मेरो धारणा रहेको छ।’

केन्द्रीय नेतृत्व हलले चयन गर्नुपर्छः सोम प्रसाद पाण्डे (अध्यक्ष-लुम्बिनी प्रदेश कमिटी) 

पार्टीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डेले पार्टीको नेतृत्व प्रत्यक्ष हलले चयन गर्नुपर्ने सुझाव राख्नु भएको छ। जारी वैठकमा विधान संशोधन सम्बन्धि बहसमा भाग लिदै पाण्डेले उक्त सुझाव दिनु भएको हो।

केन्द्रीय कमिटीको संख्याको कुरा गर्दा ७५ जिल्लाका इन्चार्ज, ३२ वटा विभागहरू, प्रदेशका अध्यक्ष, इन्चार्ज र पदाधिकारी लगायतलाई समावेश गर्दा ३०१ सदस्सीय केन्द्रीय कमिटी बन्नुपर्छ भन्ने धारणा रहेको छ। २५० हलले निर्वाचन गर्नुपर्छ । र बाँकी रहेकालाई केन्द्रीय कमिटीले आवश्यकताका आधारमा चयन गर्दा राम्रो हुन्छ। त्यस्तै प्रदेश कमिटी १५० सदस्सीय हुनुपर्छ।’

अध्यक्ष पाण्डेले नेतृत्व चयनका सन्दर्भमा प्र्रत्यक्ष हलले चयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘पार्टीको केन्द्रीय नेतृत्व हलले चयन गर्नुपर्छ। उमेर हद राजनीतिमा ठिक हुँदैन। नेतृत्वको क्रियाशिलता, क्षमता र अनुभवलाई पार्टीको निम्ति उपभोग गर्नुपर्छ। उमेर हद ठिक हुँदैन। कुनै समयमा उमेर हदको विषय आएको थियो। त्यसले खासै राम्रो काम गरेन। २०५४ सालमा यो कुरा उठेको थियो। पछि आएर केही समय लागु गर्ने काम भएपनि त्यसले राम्रो सन्देश दिन सकेन। राम्रो परिणाम दिन सकेन। कुनै पनि पार्टीमा उमेर हदको व्यवस्था छैन। क्रियाशिलता, भूगोल, समूदायलाई समेटेर केन्द्रीय कमिटी चयन हुनुपर्छ।’

केन्द्रीय नेतृत्व हलले चयन गर्नुपर्छ: अम्मर बहादुर थापा (अध्यक्ष-कर्णाली प्रदेश कमिटी) 

पार्टीको कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापाले केन्द्रीय नेतृत्व प्रत्यक्ष हलले चयन गर्नुपर्ने बताउनु भएको छ। जारी वैठकको दोस्रो दिन आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष थापाले उक्त सुझाव दिनुभएको हो। अध्यक्ष थापाले भन्नुभयो, ‘यदि हामी महासचिव प्रणालीमा जाने हो भने केन्द्रीय कमिटीले चयन गर्छ। नत्र बहुपदिय प्रणालीमा जाने अनि केन्द्रीय कमिटीले चयन गर्छ भन्न मिल्छ? प्रत्यक्ष महाधिवेशन हुनुपर्छ। कमिटी चुस्त र दुस्त बनाउनुपर्छ।’

पार्टीको केन्द्रीय कमिटी कति सदस्सीय बन्दा राम्रो हुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष थापाले भन्नुभयो, ‘मैले पार्टीको केन्द्रीय कमिटी १५१ देखि १७५ भन्दामाथि हुनुहुँदैन भन्ने सुझाव दिएको छु। ५० प्रतिशत समावेशी र ५० प्रतिशत खुला केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिनुपर्छ। कमिटी ठूलो बनाएर पार्टी ठूलो हुँदैन। पार्टी प्रभावकारी बन्दैन। पार्टीलाई गतिशिल र प्रगतिशिल बनाउन चुस्त दुस्त कमिटी निर्माण गरिनुपर्छ। चार सयको भिडले पार्टी चलाउन सकिँदैन। अन्य विभिन्न परिषदमा नेताहरुको व्यवस्थापन गर्नुर्पछ। तर, कार्यकारी कमिटी जम्बो बनाएर हुँदैन। अहिलेकै केन्द्रीय कमिटी हेर्यो भने देखिन्छ, सबै केन्द्रीय सदस्य हो भन्न लायक छन् त? त्यसैले बेलैमा हामीले विचार पुर्याउनुपर्छ।’

उमेर हदका बारेमा अध्यक्ष थापाले उमेरले मात्रै युवा भनेर नहुने धारणा राख्नु भएको छ। उहाँले भन्नुभयो, ‘युवा उमेरले मात्रै भएर हुँदैन। उसँग प्रगतिशिल विचार, गतिशिलता, सक्रियता सबै हुनुपर्छ। अहिले नै पनि भनौं को युवा पार्टीको अध्यक्ष हुन्छु भनेर आउन सक्छ हेरौं न? भनेर मात्रै भयो त? नसक्नेहरु आफै हट्नुपर्छ। बरु अध्यक्षको दुई कार्यकाल बनाउदा हुन्छ।’

पार्टीको केन्द्रीय नेतृत्व हलले चयन गर्नुपर्छ: हर्क बहादुर सिंह (अध्यक्ष-सुदूरपश्चिम प्रदेश कमिटी) 

पार्टीको सुदूरपश्चिम प्रदेशका अध्यक्ष हर्क बहादुर सिंहले पार्टीको केन्द्रीय नेतृत्व प्रत्यक्ष हलले चयन गर्नुपर्ने सुझाव दिनुभएको छ। अध्यक्ष सिंहले भन्नुभयो, ‘उमेर हदका बारेमा लामो समयदेखि बहस हुँदै आयो। जति बहस भयो, त्यति कार्यान्वयन हुन सकेन। हाम्रो पार्टी कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेर यहाँसम्म आएको छ। साथै आउँदो महाधिवेशनसम्म विभिन्न विषयमा हामी क्लियर हुनुपर्नेछ।  उमेर हद राख्नुपर्छ भन्नेमा हामी छैनौं।’

त्यस्तै अध्यक्ष सिंहले प्रत्येक प्रदेशको प्रतिनिधित्व हुनेगरी २१७ देखि २३१ जनाको केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिनु भएको छ। अध्यक्ष सिंहले भन्नुभयो, ‘प्रदेश कमिटी १५२ सदस्सीय हुनुपर्ने हुन्छ। पार्टीको केन्द्रीय नेतृत्व हलले चुन्न पाउनुपर्छ। युवाहरुको सहभागिता बिना हाम्रो पार्टीप्रति आर्कषण बढ्दैन। यो वैचारिक पाटोसँग पनि जोडिएको कुरा हो। आजको प्रविधिसँग जुध्न सक्ने भनेको पनि युवा शक्ति नै हो। युवा प्रतिनिधित्व बिना पार्टी बन्दैन। खासगरी २५देखि ४५ वर्षसम्मको ३५ प्रतिशत सहभागि हुनुपर्छ। ४५ देखि ६० वर्षको लागि ४० प्रतिशत ६० वर्षभन्दा माथिका नेताहरुका लागि २० प्रतिशतको व्यवस्था गरिनुपर्छ।’

the authoradmin