खेलकुदसमाचार

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् ।

शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो सेट ३–६ ले अभिनन्सुलाई सुम्पिएका प्रदिपले दोश्रो सेटमा सम्हालिएर खेल्दै ६–२ आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याए । अन्तिम सेटमा प्रदिपले अभिनन्सुलाई ६–४ ले पछि पार्दै फाइनलमा स्थान पक्का गरे ।

त्यस्तै मेन्स सिंगल्सतर्फ नै भएको सेमीफाइनलमा पूर्व नं १ संरक्षकले २–० को सोझो सेटमा ऋतिक रानालाई पराजित गरे । पहिलो सेट ६–२ र दोश्रो सेट ६–३ ले जित्दै ऋतिकको फाइनल पुग्ने सपनालाई संरक्षकले विफल पार्दै उपाधि भिडन्तमा प्रदिप संग भेट पक्का गरे ।

यता महिला सिंगल्सतर्फ नेपाल नं १ तथा १९ औं माछापुच्छ्रे महिलातर्फकी उपाधि विजेता अभिलाषा विष्टले माहिका रानालाई २–१ को सेटमा पराजित गरी फाइनलमा स्थान शुरक्षित गरेकी छन् । पहिलो सेट ६–३ ले सहज जित हात पारेकी अभिलाषाले दोश्रो सेट भने माहिकालाई ४–६ ले सुम्पिइन् । तर अन्तिम सेट भने अभिलाषाले ६–१ ले सहज जित हात पारिन् । अभिलाषाको भेट फाइनलमा सुनिरा थापा संग हुनेछ । सेमीफाइनलमा रायना शाह विरुद्ध संघर्षपूर्ण खेलमा सुनिराले ६–३, ६–७ र ७–५ ले जितेकी हुन् ।

मेन्स डबल्सको उपाधि सरंक्षक र सम्यकले जिते
२० औं पोखरा ओपन मेन्स डबल्सतर्फको उपाधि संरक्षक भुषण बज्रचार्य र सम्यक भुषण बज्रचार्यको जोडीले जितेको छ । उनीहरु सहोदर दाजु भाई हुन् । फाइनल भिडन्तमा संरक्षक र सम्यकले भारतिय खेलाडी जोडी अभिनन्सु ठाकुर र सिद्धान्त डेकालाई सोझो सेटमा ७–५, ६–४ ले हराउँदै उपाधि जितेका हुन् ।

६५ वर्ष माथी फाइनलमा मनोजको जित
यस्तै भेट्रान्स ६५ वर्ष माथी सिंगल्स फाइनल खेल मनोज राणाले जितेका छन् । विदुर विष्ट विरुद्ध फाइनल भिडन्तमा मनोजले ४–१, ४–० को सहज जित हात पारे । उनले जित संगै नगद रु १५ हजार र उपविजेता बिदुरले नगद ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

३५ वर्ष माथी भेट्रान्स सिंगल्सको फाइनलमा सन्तोष खत्री र पूर्व नेपाल नं १ कमल भण्डारी भिड्ने पक्का भएको छ । शनिबार नै भएको सेमीफाइनलमा सन्तोषले पूर्व नं १ जितेन्द्र परियारलाई सुपर टाई म्याचमा ४–६, ६–३ र १०–८ ले जित निकाल्दा कमलले अनिल साई विरुद्ध ६–४, ७–५ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

डबल्समा अनिल र सिमान्तलाई उपाधि
३५ वर्ष माथीको डबल्समा अनिल शाही र सिमान्त गुरुङको जोडीले जितेको छ । फाइनलमा जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ७–६, ६–१ ले पराजित गरी उपाधि जितेको हो ।

४५ वर्ष माथी भेट्रान्स सिंगल्सको फाइनलमा रोहीत सुनुवार र महेश श्रेष्ठले उपाधि भिडन्त पक्का गरेका छन् । रोहितले सेमीफाइनलमा प्रदिप शाहलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे भने अर्को सेमीफाइनल खेलमा महेशले गोपी भट्टराईलाई ६–० र ६–२ ले पराजित गरेका थिए । सोही उमेर समुहको डबल्समा चन्द्र शाही र महेश श्रेष्ठको जोडीले आशिष सिग्देल र निमा लामाको जोडीलाई ६–३, ६–४ ले पाखा लगाउँदै फाइनलमा पुगेका छन् ।

त्यसै गरी ५५ वर्षमाथी भेट्रान्स सिंगल्सको फाइनलमा जिवन घिमिरे र बिमल गुरुङले फाइनलमा स्थान पक्का गरेका छन् । जिवन घिमिरेले समिर शेरचनलाई ६–०, ६–१ को सोझो सेटमा सेमीफाइनलमा पराजित गर्दा भारतिय खेलाडी थोङवाम तुलेश्वरलाई ७–६, ६–३ ले हराउँदै बिमलले फाइनल यात्रा शुरक्षित गरे । सोही उमेर समुहको डबल्समा कृष्णराज घले र सूवर्ण ढाक्वाको जोडीले ६–४, ६–२ ले विमल कुमार गुरुङ र जोली टार्गेनलाई पराजित गरी उपाधि नजिक पुगे ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार सिंगल्सतर्फ र केही डबल्सतर्फका फाइनल खेलहरु आइतबार सञ्चालन हुनेछन् ।

the authoradmin