नेपालअखबार, महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ ।
‘हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला ?’ हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुगेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन्, ‘मै गरीबको छाप्रो चाहिँ फोर्नु परेछ ।’ शुक्रबार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको विचल्ली भएको छ ।