Tuesday, July 28

कांग्रेसले मेलमिलापको कुरा गर्दा मनमा चिसो पसेको थियो: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफूलाई मनमा चिसो पसेको बताउनु भएको छ।

Advertisement

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले कांग्रेसले मेलमिलापको कुरा गर्दा फेरि राजासँगको सहकार्यका लागि त होइन भनेर आफ्नो मनमा चिसो पसेको बताउनु भएको हो।

Advertisement
Advertisement

अध्यक्ष नेपालले भन्नुभयो, ‘सुरुमा त यो कार्यक्रमबारे सुन्दा मलाई कता कता के भयो नेपाली कांग्रेसलाई? राष्ट्रिय मेलमिलापको कुरा पो आज उठ्दैछ। त्यो पनि २०३३ सालसँग जोडेर भन्दाखेरि त्यो बेलामा राजासँगको सहकार्यको कुराले गर्दा अलिकति मलाई मनमा चिसो चाही पसेको थियो। फेरि सहकार्यको विचार नेपाली कांग्रेसमा आयो कि के हो?’

Advertisement

अध्यक्ष नेपालले अगाडि भन्नुभयो,‘त्यसो भएकाले फेरि अहिले राजावादीले टाउको उठाइरहेका बेलामा, प्रतिगमनकारी शक्ति चलमलाइरहेको र फागुन ७ देखि आन्दोलनको घोषणा गरिरहेको बेलामा के पो होला भन्ने लागेको थियो? पछि यसो बुझ्दा गणतन्त्र पक्षधरबीचमा नयाँ एकता गर्ने मान्यताका साथ कार्यक्रम गरिरहेका छौ भनेपछि ढुक्क भएको छु।’

अध्यक्ष नेपालले नेताहरूले बेलाबेला गति छाडेको देखेका कारण आफूलाई चिसो पसेको स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले सबैलाई चिन्ता देशको भएको भन्दै यो चिन्ताबाटै हामी कसरी अघि बढ्ने भनेर मन्थन गर्न चाहिरहेको बताउनु भयो।