राजनीतिसमाचार

पानी छैन भने जीवन नै छैन: पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले काठमाडौँमा पानीको हाहाकार भएको भन्दै उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गराएको छ।

सोमबार खानेपानीको समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर कमिटीले ज्ञापनपत्र बुझाएको हो।

ध्यानाकर्षण कार्यक्रममा बोल्दै खनालले आफू खानेपानी पीडित भएको गुनासो व्यक्त गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘म पनि काठमाडौँबासी हुँ । मेरो घरमा पनि पानी आउँदैन। यसअर्थ पानी पीडितहरू मध्ये म पनि एउटा हुँ। सात दिनमा एकदिन आउछ। कहिले त्यो पनि आउँदैन। आउनुपर्ने एक घण्टा भनिन्छ, कहिले १० मिनेट, कहिले २५ मिनेट आउछ। त्यसपछि सुक्छ।’

सम्मानित नेता खनालले भन्नुभयो, ‘पानीको समस्या विश्वव्यापी बन्दै गइरहेको छ। ग्लोवल वार्मिङका कारण पानीका मुहानहरु सुक्दै गएका छन्। यो विश्वव्यापि समस्या हो। हाम्रोमा पनि यो ंसंकट छ। जनसंख्या बढिरहेको छ। आपूर्तिका क्षमता बढाउने काममा सरकार लागेन भने कुनै दिन यस्तो समस्या आउन सक्छ, काठमाडौँमा विष्फोड हुनसक्छ। पानीकै कारण कयन देशका सत्ता पल्टिने स्थिति छ। ठूला ठूला आन्दोलन हुने अवस्था आउन सक्छ। यदि काठमाडौँका निम्ति मेलम्ची पानी आएन भने के हुन्छ? यसका बारेमा सबैभन्दा धेरै चिन्ता प्रधानमन्त्रीलाई हुनुपर्छ। खानेपानी मन्त्रीले चिन्ता गर्नुपर्यो। खानेपानी सरोकारवालाले गर्नुपर्यो।’

सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘जीवनको अर्को नाम नै पानी हो। पानी छैन भने जीवन नै छैन। पानीका निम्ति अकल्पनीय आन्दोलन हुन सक्छन्। त्यस्तो दिन नआओस् भन्नका निम्ति हामीले यो ध्यानाकर्षण पत्र बुझाएका छौं। मेलम्ची आयोजना २०४६ पूर्वको योजना हो। २०४७ को अन्तरिम सरकारको एउटा मन्त्री म पनि हुँ। त्यो बेलामा हामीले नै यस आयोजनालाई अगाडि बढाउनु पर्छ भनेका हौं। त्यो समयदेखि आजसम्म पनि पानी निरन्तर नआउनु नेपालको मात्रै लज्जाको विषय होइन, अन्तर्राष्ट्रिय दाताहरू समेत जज्जित हुने अवस्था छ। त्यसेलै यस विषयमा गम्भीर हुनुपर्छ। साथै मेलम्चीको पानी नआञ्जेल अहिले वितरण गरिरहेको जुन तालिका छ, यसलाई वैज्ञानिक र व्यवहारिक ढंगले पालना गरियोस्।’

ज्ञापनपत्रमा पचासौं अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको ३ दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ। महानगरका ३२ वटै वडाको घरका धाराहरुमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था गर्न एकीकृत समाजवादीका नेताहरूले माग गर्नु भएको छ।

नगरकमिटी सचिव सरिता खनालकाअनुसार ध्यानाकर्षण कार्यक्रममा पार्टीका उपमहासचिव एवं बागमती प्रदेश कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, पोलिटब्यूरो सदस्य टहलबहादुर खड्का, गोपाल बराल, केन्द्रीय सदस्यहरू सागर नेपाल, महानगर कमिटी अध्यक्ष रामेश्वर श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

the authoradmin