
नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताए।
बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।
‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको छ। भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धको शान्तिपूर्ण रूपान्तरण सँगै क्रान्तिको स्वरूप फेरिएको पनि बताए।
‘जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो। त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो। त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो,’ उनले भने। उनले अहिले पनि पार्टी क्रान्तिमै रहेको बताए।
‘क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ। हामी समाजवादको लक्ष्यमा छौं। त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो,’ उनले भने।
कार्यक्रममा सशस्त्र संघर्षताका मारिएका पार्टीका नेता–कार्यकर्ता तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान गरिएको थियो।

