समाचारसमाज

पोखरामा सात पत्रकार एकै पटक पुरस्कृत हुँदै

नेपालअखबार, पाेखरा। नेपाल पत्रकार महासंघ कास्कीले ७ जना पत्रकारलाई एकै मञ्चमा पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने पत्रकारहरुमा कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लाग्नुभएको हो । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिनुभयो ।

उक्त अवसरमा पत्रकार टंक अधिकारी र दीननाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लाग्नुभएको हो । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघले जनाएको छ । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुदै हुनुहुन्छ ।

पुरस्कृत पत्रकारहरुलाई यही माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।

the authoradmin