समाचारस्वास्थ्य

गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

नेपाल अखबार, गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामी उनी रहेको भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । उनलाई भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
भारतबाट आएपछि उनलाई छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।
गुल्मी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । हालसम्म पीसीआर परीक्षणको लागि ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिपोर्ट आउन बाँकी छ ।

the authoradmin

Leave a Reply