नेपालअखबार, भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिए । उनले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा रु डेढ करोड मात्र विनियोजन भएको बताए ।