राजनीतिविचारसमाचार

गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन भत्किने वाला छैन : अध्यक्ष नेपाल

Nepal Akhabar

नेपालअखबार, धनुषा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने बताएका छन् । बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए ।

उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ ।’

यस्तै उनले भाषण र वाचाभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए ।  उनले भने, –‘भाषण र वाचाभन्दा परिणाममुखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौँ । विगतका गल्तीलाई समीक्षा गर्नुपर्छ । कनिका छरे जसरी बजेट छर्ने । आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’

मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्युँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘हराई सकेका शक्तिहरू, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाए जस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्ने वाला  छैन । केही गर्नेवाला पनि छैन । जाग्न पनि दिँदैनौ, टिक्न पनि दिँदैनौ । त्यस कारणले व्यर्थको कसरत नगरौँ ।’

the authoradmin