Tuesday, July 28

पाकिस्तानमा आज आम निर्वाचन

नेपालअखबार,काठमाडौं । कडा सुरक्षा प्रबन्धका बीच पाकिस्तानमा आज आम निर्वाचन हुँदै छ । मतदान आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

Advertisement

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सेना, प्रहरी र निर्वाचन आयोगलाई चुनौतीपूर्ण हुने ठानिएको छ ।

Advertisement
Advertisement

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।

Advertisement

पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ ।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ ।

निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् ।

को बन्ला नयाँ प्रधानमन्त्री ?

यो निर्वाचनबाट को प्रधानमन्त्री बन्ला भन्ने चासो छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भने प्रधानमन्त्रीको प्रतिस्पर्धामा छैनन् । भ्रष्टाचार आरोपमा जेलमा परेकाले उनले चुनाव लड्न पाएका छैनन् ।

इमरान खालको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले आफ्नो चुनाव चिह्न क्रिकेट ब्याट पनि पाएको छैन । निर्वाचन आयोगले पीटीआईलाई क्रिकेट ब्याट चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि सो पार्टीका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् । पीटीआईको समर्थनमा केही नयाँ अनुहारका युवा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो निर्वाचनको प्रतिस्पर्धामा सबैभन्दा अगाडि ७४ वर्षीय पूर्वप्रधानमन्त्री नवाज शरीफ रहेको चर्चा छ । यदि उनको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले चुनाव जितेमा नवाज शरीफ चौथो पटक प्रधानमन्त्री बन्ने छन् ।

अमेरिकी थिङ्कट्यांक विल्सन सेन्टरका दक्षिण एशियाका निर्देशक माइकल कुगल्मनलाई उद्धृत गर्दै बीबीसी नेपालीले लेखेको छ, ‘उनी निकै लोकपि्रय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन् ।’

नवाज शरीफ १ नोभेम्बर १९९० देखि १८ जुलाई १९९३ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि दोस्रो पटक १७ फेब्रुअरी १९९७ देखि १२ अक्टुबर १९९९ सम्म प्रधानमन्त्री बने । उनको दोस्रो कार्यकालमा तत्कालीन सैनिक शासक परवेज मुशर्रफले कू गरेपछि नवाज शरीफ सत्ताच्युत भएका थिए । सन् २०१३ मा भएको निर्वाचनपछि उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनी पछिल्लो पटक ५ जुन २०१३ देखि २८ जुलाई २०१७ सम्म प्रधानमन्त्री थिए । तीनपटकसम्म प्रधानमन्त्री बन्ने उनी पाकिस्तानको पहिलो नेता हुन् ।

भ्रष्टाचारको अभियोग लागेपछि उनी चार वर्षसम्म पाकिस्तानबाट निर्वासित भएका थिए । चुनाव लड्ने तयारीका साथ उनी गत अक्टुबरमा मात्र स्वदेश फर्किएका थिए । उनीमाथिका अभियोग पनि एक-एक गर्दै चुनाव अगाडि टुंगो लगाइएको छ । साथै पाकिस्तानको सेनाको साथ पनि नवाज शरीफलाई रहेकाले उनी यो निर्वाचनबाट फेरि सत्तामा फर्किने अनुमान गरिएको छ ।

नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने अनुमान गरिएको हो ।

यसैगरी बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि यो निर्वाचनको प्रमुख प्रतिस्पर्धी हो । पीपीपीले जरदारीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।